काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा विधिवत् रूपमा दर्ता भएको हो।
अधिवक्ता टीकाबहादुर कुँवरमार्फत पेस गरिएको रिटमा कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरिएको छ। साथै, मनोजकुमार केसीलाई आईजीपीका रूपमा कुनै पनि कामकारबाही गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ। कार्कीले आफ्नो कार्यकाल अझै बाँकी रहेको अवस्थामा आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी रिटमा गरेका छन्।
रिट दर्ता गर्ने विषयमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार ठगिन्द्र कट्टेल र मुद्दा शाखाका प्रमुख अशोक क्षेत्रीबीच दुई दिनसम्म छलफल भएको थियो। त्यसपछि रिटलाई विधिवत् रूपमा दर्ता गरिएको हो। अब उक्त रिटमाथि सर्वोच्च अदालतले गर्ने सुनुवाइ र सम्भावित अन्तरिम आदेशले प्रहरी संगठनको नेतृत्व विवादमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

