काठमाडौं । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरेकी छन्। उक्त पुल रु. ४ करोड ७१ लाख ३४ हजार ७२७ लागतमा निर्माण गरिनेछ। निर्माण कार्य आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सहज रूपमा ओसारपसार गर्न मिल्ने लिफ्ट जडान गरिनेछ। हाल दुई भवनबीचको मुख्य सडक पार गरेर बिरामीलाई मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा लैजानुपर्ने बाध्यता रहेको छ।
आकासे पुल सञ्चालनमा आएपछि बिरामीको आवतजावत सहज हुनुका साथै सडक पार गर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङसमेत निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

