काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गते (आज) देखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकोे हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २१ दशमलव २५ प्रतिशतले हुन आउने १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कात्तिक १९ गते अनुमति पाएको हो । जारी पूँजीको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय अर्थात काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएको हो ।
कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि जारी गरिने ९ लाख कित्ता शेयरमध्ये १० प्रतिशतले हुने ९० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि थप सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन हुनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयमा निष्कासन हुने शेयर छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस १३ गते विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा भने छिटो अवधि मंसिर १५ गतेसम्म तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा मंसिर २४ गतेसम्म निष्कासन लम्बिनेछ ।
स्थानिय बासिन्दाहरुले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाईनमार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
२०७३ साल फागुन ५ गते स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६२ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । यो कम्पनीको वित्तीय अवस्था राम्रो देखिन्छ । आर्थिक वर्ष ०८०।८१ देखि ०८२।८३ सम्मको तीन आर्थिक वर्षको वास्तविक वित्तीय अवस्थालाई हेर्दा कम्पनी निरन्तर सञ्चित नाफामै रहेको छ ।
आर्थिक वर्ष ०८०।८१ मा ११ करोड ९९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष ०८२।८३ को अन्तिमसम्ममा भने २३ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको हो । यस अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ पुर्नमूल्याङ्कन वाहेक १२६ रुपैयाँ ३६ पैसा छ भने पुर्नमूल्याङ्कन सहित ११९ रुपैयाँ ३ पैसा छ ।

