Ad
आइतबार, १३ मंसिर २०८३ | ९:२४ AM
इनम सापकोटाको अडियो लिक भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न

इनम सापकोटाको अडियो लिक भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न

लगानीबक्स सम्वाददाता २० कार्तिक २०८३ ४:०८ अपराह्न

काठमाडौं, २० कात्तिक । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ । अनुसन्धानकै क्रममा हिरासतमा रहेका व्यक्तिको भनिएको अडियो बाहिरिएपछि अनुसन्धानको गोपनीयता र प्रमाणको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको हो । संवेदनशील अनुसन्धानको विषय सार्वजनिक हुनुले प्रहरीको चेन अफ कस्टडी तथा जवाफदेहितामाथि समेत प्रश्न उठाएको छ ।

उच्च तहका व्यक्तिसँग सम्बन्ध रहेको भनिएका सापकोटाको अनुसन्धानसँग जोडिएको अडियो सार्वजनिक भएपछि यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले बताए। अडियो कसरी सार्वजनिक भयो र सार्वजनिक अडियो वास्तविक हो वा होइन भन्ने प्रश्नमा एसएसपी घिमिरेले प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘अहिलेसम्म उहाँको सम्बन्धमा हामीले कुनै धारणा सार्वजनिक गरेका छैनौं ।’ त्यस्तै, सार्वजनिक अडियोका आधारमा नेपाली कांग्रेसका सभापतिलाई समेत पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चा सत्य हो वा होइन भन्ने प्रश्नमा पनि घिमिरेले अनुसन्धान जारी रहेको जवाफ दिएका छनु। ‘अहिले अनुसन्धान जारी रहेकाले हामीले कसैका विरुद्ध पनि धारणा सार्वजनिक गरेका छैनौं,’ उनले भने ।

प्रहरीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि अडियो सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, गोपनीयता र सम्भावित राजनीतिक प्रभावबारे विभिन्न प्रश्न उठ्न थालेका छन् ।