काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दशैँयता सम्पन्न गरेका महत्त्वपूर्ण कार्यहरूको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा मुलुकको सुरक्षा अवस्था, वैदेशिक कूटनीति, विकास आयोजना, लगानी प्रवर्द्धन, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण तथा नागरिक सेवा प्रवाहसँग सम्बन्धित विषय समेटिएका छन्।
प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिँदै समन्वय, सूचना आदानप्रदान र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। यसैगरी, भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भएको भेटमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीबारे छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमको प्रगति समीक्षा गरिएको छ। मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले बेरुजु फर्छ्यौट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्रवर्द्धन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको छ।
विकास तथा लगानीका आयोजनामा प्रगति :
लगानी बोर्डअन्तर्गतको अरुण–३ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी पुगेको छ। माथिल्लो कर्णाली आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढेको छ भने नार खोला, सानी भेरी–३ र बेतन कर्णाली आयोजनाको लगानी स्वीकृत गरिएको छ। लगानीकर्ताका लागि एकल विन्दु सेवा केन्द्र र गुनासो सुनुवाइ डेस्कसमेत सञ्चालनमा ल्याइएको छ।
डिजिटल शासन र साइबर सुरक्षामा जोड:
नयाँ विद्युतीय खरिद प्रणालीको दोस्रो संस्करण कात्तिक १७ गतेदेखि सञ्चालनमा ल्याइएको छ। सरकारी वेबसाइटमा SSL/TLS प्रमाणपत्र अनिवार्य गर्न पत्राचार गर्नुका साथै PHP तथा Node.js का सुरक्षा कमजोरीबारे सचेतनामूलक एड्भाइजरी जारी गरिएको छ। व्यक्तिगत डाटा संरक्षण नीति र स्टार्टअप नेपाल पोर्टलसम्बन्धी कामसमेत अघि बढाइएको छ।
२८ कर्मचारीमाथि कारबाही सिफारिस:
प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले १६ वटा सार्वजनिक निकायको अनुगमन गरी २८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ। यस अवधिमा प्रधानमन्त्री कार्यालयमा प्राप्त अनियमितता तथा भ्रष्टाचारसम्बन्धी २१ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको विवरणमा उल्लेख छ।
विपद् उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम:
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न खातामा हालसम्म १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जनाइएको छ। यसै अवधिमा मानव अधिकार अनुगमन तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे अभिमुखीकरण गरिएको छ। राष्ट्रिय तथ्याङ्क सुशासन र गुणस्तरसम्बन्धी ढाँचा निर्माणका लागि अन्तरक्रिया तथा बालश्रममुक्त स्थानीय तह घोषणाका लागि आवश्यक तथ्याङ्कीय मापदण्ड र कार्यविधिसम्बन्धी कार्यशालासमेत सम्पन्न भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा यी कार्यहरूलाई दशैँयताका प्रमुख कार्यसम्पादनका रूपमा प्रस्तुत गरिएको छ।

