Ad
बिहीबार, १० मंसिर २०८३ | २:१४ AM
जलवायु कूटनीतिमा स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय पहिचान

जलवायु कूटनीतिमा स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय पहिचान

लगानीबक्स सम्वाददाता २५ कार्तिक २०८३ ८:१४ पूर्वाह्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका TIME को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिनुभएको छ।

उक्त उपलब्धिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले डा. वाग्लेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। रास्वपाका अनुसार विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीतिनिर्माता तथा राजनीतिकर्मीका रूपमा सक्रिय वाग्लेले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनुभएको योगदानको अन्तर्राष्ट्रिय स्तरमा सम्मान भएको हो।

विशेषगरी रसुवा–भोटेकोशी बाढीपछि जलवायु न्यायको पक्षमा पैरवी, जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको पार्टीले जनाएको छ।

बाढीपछि विपद्पछिको आवश्यकता आँकलन, जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने नेपालजस्ता देशले भोग्नुपरेको असमान जोखिमबारे तथ्यमा आधारित वकालत तथा संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट नेपाललाई सहयोग उपलब्ध गराउन गरिएको पहल उल्लेखनीय रहेको रास्वपाको भनाइ छ।

त्यस्तै, विपद्पछि प्रभावित नागरिकका लागि तत्काल आवश्यक आर्थिक सहायता परिचालन गर्न उहाँले पुर्‍याउनुभएको योगदानलाई पनि पार्टीले महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।

नेपालले जलवायु सङ्कटमा नगण्य योगदान गरे पनि यसको असर असमान रूपमा भोगिरहेको भन्दै रास्वपाले हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र प्रभावित समुदायका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन वाग्लेले खेलेको भूमिका प्रशंसनीय रहेको जनाएको छ।

पार्टीले यस उपलब्धिलाई डा. वाग्लेको व्यक्तिगत प्रयासको सम्मान मात्र नभई नेपालजस्ता जलवायु सङ्कटबाट प्रत्यक्ष प्रभावित देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षणका रूपमा लिएको छ।

रास्वपाले जलवायु न्याय, पर्याप्त जलवायु वित्त, अनुकूलन सहयोग तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नेपालको आवाज विश्वमञ्चमा सशक्त रूपमा उठाउन वाग्लेले निरन्तर योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।