काठमाडौं । काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी तीव्र पारिएको छ । पर्वलाई लक्षित गर्दै उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ ।
पछिल्ला वर्षमा काठमाडौँ उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा पूजा व्यवस्थापनको तयारी गरिएको हो ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा घाट निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । अहिले घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए ।
छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्ने गर्छन् ।
काठमाडौँमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट र बालाजुको बाइसधारालगायत स्थानमा छठ पूजा गर्ने गरिन्छ ।
छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ ।
विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ ।

