काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको सार्वजनिक बिदापछि आज (कात्तिक २७ गते, शुक्रबार) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नियमित सेयर कारोबार पुनः सञ्चालन हुँदैछ ।
तिहारका कारण कात्तिक २२ गतेदेखि २६ गतेसम्म बजार बन्द रहेको थियो । यसअघि शनिबारसमेत गरी लगातार ६ दिन बन्द रहेको सेयर बजार आजदेखि खुल्न लागेको हो ।
लामो बिदापछि बजार खुल्न लागेसँगै लगानीकर्ता तथा बजार विश्लेषकहरूले आजको कारोबारलाई चासोका साथ हेरेका छन् । तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २० गते नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ६५५ दशमलव २२ विन्दुमा पुगेर बन्द भएको थियो ।
तिहारपछि सूचीकृत कम्पनीहरूको वार्षिक साधारणसभा तथा लाभांश वितरणको सिजन सुरु हुने भएकाले बजारमा खरिद चाप बढ्न सक्ने अनुमान गरिएको छ । विशेषगरी लाभांश सुरक्षित गर्ने उद्देश्यले लगानीकर्ताको सक्रियता बढ्न सक्ने अपेक्षा गरिएको छ ।
यस साता तिहारपछि आज शुक्रबार मात्रै सेयर कारोबार हुनेछ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले त्यसपछि बजार सोमबारदेखि पुनः सञ्चालनमा आउनेछ ।

