काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनसँग सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा मन्त्री चौधरीले यस्तो अपेक्षा व्यक्त गर्नुभएको हो ।
भेटवार्ताका क्रममा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गत अगस्ट २६ मा रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो । साथै, माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी तथा हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति पनि धन्यवाद दिनुभयो ।
मन्त्री चौधरीले कोप–३१ का निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने नेपालको धारणा प्रस्तुत गर्नुभयो । उहाँले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने र जलवायु अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
भेटवार्तामा हिमाली क्षेत्रको जलवायु जोखिम न्यूनीकरण, सूचना आदानप्रदान तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र चीनबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

