काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो खेलमा साँझ ५ बजे काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
आजको दोस्रो खेल प्लेअफ समीकरणका दृष्टिले निकै महत्वपूर्ण रहेको छ । पोखरालाई पराजित गर्न सके काठमाडौं गोर्खाजले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । त्यसैले काठमाडौंका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा भने प्लेअफ दौडबाट बाहिरिसकेको कर्णाली याक्सले चितवन राइनोजको सामना गर्नेछ । चितवनका लागि जितले प्लेअफ सम्भावना थप बलियो बनाउनेछ ।

