Ad
बिहीबार, १० मंसिर २०८३ | २:३५ AM
मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै आशुतोष इनर्जी

मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै आशुतोष इनर्जी

लगानीबक्स सम्वाददाता ३ मंसिर २०८३ ३:५९ अपराह्न

काठमाडौं  । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

यस कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कुल कित्ता आईपीओेमध्ये ६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्न लागेको हो । स्थानीयमा निष्कासन हुने आईपीओमध्ये ३ लाख कित्ता शेयर अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको हाल दुधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गारखा जिल्लाको हाल अजरिकोट गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३ लाख कित्ता शेयर अतिप्रभावित क्षेत्र बाहेकको दुधपोखरी गाउँलिका एवं दोर्दी गाउँपालिका तथा अजरिकोट गाउँपालिकाका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिने जानकारी कम्पनीले दिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने थप सर्वसाधारणमा दोस्रो चरणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएको हो । दुबै तर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आयोजना प्रभावित स्थानीमा छिटोमा मंसिर २८ गतेसम्म आईपीओ निष्कासन मिति तय भएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा पुस १४ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा भने छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गतेसम्मको निष्कासन मिति तय भएको छ ।

यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय, आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आस्बा सदस्य बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयर अनलाईनबाट पनि आवेदन पेश गर्न सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर ट्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले ८.३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत आयोजना र २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजना लमजुङ्ग जिल्लामा निर्माण गरेको छ । कम्पनीका अनुसार चेपे खोला साना जलविद्युत आयोजनको निर्माण कार्य शतप्रतिशत र चेपे खोला क्यास्केट जलविद्युत आयोजनको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चेपे खोला जलविद्युत आयोजना निर्माणको कुल लागत १ अर्ब ४५ करोड ९ लाख ५९ हजार १५६ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १६ करोड ८१ लाख २९ हजार ६८२ रुपैयाँ रहेको छ । सो आयोजनाले २०७६ मंसिर १६ विद्युत अनुमति प्राप्त गरेको थियो । उक्त आयोजनाले २०७९ असोज १६ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै, चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको कुल लागत ४३ करोड ४० लाख रुपैयाँ रहेको छ । यस आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७० लाख रुपैयाँ रहेको छ । सो आयोजनाले २०८१ कात्तिक १४ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो ।  गत आर्थिक वर्ष ०८२।८३ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी १४ करोड ८४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९२ पैसा छ ।