काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले २०८३ मंसिर २१ गतेसम्म लागू हुने गरी उक्त योजना सञ्चालनमा ल्याएको हो । योजनाअन्तर्गत दुई वर्ष ननाघेका व्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, बीमालेख व्यतित भएको दुई वर्ष नाघेको तर चार वर्ष ननाघेको अवस्थामा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार उक्त छुट सुविधा सम्पूर्ण बीमा अवधिभर एकपटक मात्रै लिन पाइनेछ । छुट सुविधामा पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ ।
विभिन्न कारणले व्यतित अवस्थामा पुगेका बीमालेखलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनु अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यस अभियानले बीमितलाई आफ्नो बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्नुका साथै जीवन बीमाको महत्त्व र आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीले योग्य बीमितलाई अभियानको समयसीमाभित्रै बीमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको नजिकको शाखा तथा उपशाखामा सम्पर्क गर्न सकिने जनाएको छ ।

