काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर ८ गते अन्तिम दिन रहेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा प्रतिशेयर १ हजार ५४० रुपैयाँ कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
गत वर्ष प्रतिशेयर १ हजार ८४२ रुपैयाँ कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा प्रयोजनका लागि भने कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

