Ad
बिहीबार, १० मंसिर २०८३ | २:५६ AM
हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि निष्कासन गर्ने

हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि निष्कासन गर्ने

लगानीबक्स सम्वाददाता ९ मंसिर २०८३ ११:५१ पूर्वाह्न

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तामा जारी गर्ने शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन तथा बाँडफाँटपछि दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

लामो समयपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन हुन लागेको हो । यस अघि पछिल्लो समय बेनी हाइड्रोपावरको आईपीओ गत असोजमा जारी भएको थियो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउने उदेश्यले केहि समय स्वीकृति प्रक्रियालाई थाती राख्दा प्राथमिक बजार खाली बनेको थियो । पछिल्लो समय भने थप दुई कम्पनीले आईपीओका लागि अनुमति पाएका छन् । हिम पर्वतपछि आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्सको पनि थप आईपीओ निष्कासनमा आउनेछ ।

हिम पर्वतले भने आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । यी वाहेक पनि कम्पनीले २ लाख ११ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २६ हजार ७५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता शेयर भने थप सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । यो आईपीआ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन अवधि छिटोमा मंसिर २३ गतेसम्म र ढिलोमा पुस ३ गतेसम्मका लागि तोकिएको छ । लामो समयपछि निष्कासनमा आएको आईपीओ खरीदका लागि लगानीकर्ता निकै प्रतिक्षारत रहेकाले यो आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने निश्चित रहेकाले छिटो अवधिभित्र मात्र आईपीओ निष्कासनमा रहने सम्भावना बलियो छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखा जिल्लामा कुल २५ दशमलव ५ मेगावाट क्षमताको दुई आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाबाट २०८२ साल असोज २५ गतेदेखि र ५ दशमलव ५ मेगावाट क्षमताको साँगु खोला १ जलविद्युत आयोजनबाट २०८२ साल मंसिर २२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको छ भने ५ दशमलव ५ मेगावाट क्षमताको साँगु खोला १ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्ष ०८२।८३ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५ पैसा छ । यस अवधिसम्म १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १५ रुपैयाँ ४८ पैसा छ । चालू आर्थिक वर्षभित्र कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा कायम गर्ने प्रक्षेपण गरेको छ । प्रतिशेयर आम्दानीको प्रक्षेपण भने १८ रुपैयाँ १७ पैसा रहेको छ ।