काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गर्नुभएको छ।
मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुग्नुभएको हो।
छड्के अनुगमनका क्रममा उहाँले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गर्नुभएको थियो।
उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

