२०८२ चैत २६ | १:११ AM
कुमारी बैंक लिमिटेडको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कुमारी बैंक लिमिटेडको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

लगानीबक्स April 3, 2026 6:42 am

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै विगत २५ वर्षको यात्रामा प्राप्त विश्वास र सहयोगप्रति आभार प्रकट गरेको छ। बैंकले आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

कार्यक्रमअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुरसहित देशभरका विभिन्न प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रममार्फत रक्त बैंकको आवश्यकता पूर्ति तथा जीवन बचाउने अभियानमा योगदान पुर्‍याउने लक्ष्य राखिएको बैंकले जनाएको छ।

साथै, बैंकले परम्परागत भेषभूषा धारण गर्दै सांस्कृतिक विविधताको सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गरेको थियो। यसले कर्मचारीहरूमा सांस्कृतिक पहिचान, समावेशीता र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याएको उल्लेख गरिएको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत देशभरका शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर सञ्चालन गरिनेछ। यस कार्यक्रमले गरिब, विपन्न तथा पिछडिएका वर्गको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

यसैबीच, बैंकले ‘सिल्भर सेभिङ्स’ बचत खाता पनि सार्वजनिक गरेको छ, जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खातासरह आकर्षक ब्याजदर प्राप्त गर्ने सुविधा पाउनेछन्।

हाल बैंकले देशभर रहेका २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईमार्फत तीन लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा अझ सरल, सुलभ र प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।