काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री रिचर्ड कपुरबीच मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा हालै सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित सहकार्यका क्षेत्र, लगानी प्रवर्द्धन तथा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा गहन छलफल भएको जनाइएको छ।
अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सुशासन, आर्थिक सुधार तथा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै पुराना तथा अनावश्यक कानुन हटाएर नयाँ कानुनी संरचना निर्माणमार्फत लगानीमैत्री वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा अमेरिकी तथा गैरआवासीय नेपाली लगानी अपेक्षित रहेको बताए।
अमेरिकी सहायक विदेश मन्त्री कपुरले नेपाल–अमेरिका सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले हालैको शान्तिपूर्ण निर्वाचनपश्चात् सुरु भएका सुधार कार्यक्रमलाई अमेरिकी प्रशासन र जनताले सकारात्मक रूपमा हेरेको बताए। साथै अन्तर्राष्ट्रिय विकास साझेदारीमार्फत दुवै देशले आर्थिक र प्राविधिक लाभ लिन सक्ने धारणा व्यक्त गरे।
भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपालका लागि अमेरिकी दूतावासका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

