२०८३ वैशाख १० | १:३६ PM
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले वैशाख २१ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन…

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले वैशाख २१ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

कम्पनी २ करोड ५९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

लगानीबक्स २०८३ वैशाख ९ ६:११ अपराह्न

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यीमध्ये पहिलो चरणमा १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

यी आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । निष्कासन मिति छिटोमा वैशाख २४ गतेसम्म तोकिएको यो आईपीओ खरीदका लागि सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएमा भने जेठ ४ गतेसम्म निष्कासन लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गरिएको छ ।

कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो ।

कम्पनीले बाहिरी तथा भित्री वालका इमल्सन तथा इनामेल पेन्ट बजारमा विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनीले दैनिक १४ दशमलव ३ मेट्रिक टक पेन्ट उत्पादन गर्दै आएको छ ।

गत आर्थिक वर्ष ०८१/८२ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २ करोड ५९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा छ ।