काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित जेठ १० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बन्दीपुर केवलकार प्राङ्गण बन्दीपुर, तनहुँमा विहान ९ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।
आईपीओबाट संकलित पूँजीको उपयोग गर्ने विषयमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । सञ्चालकहरुको पारिश्रमिक , बैठक भत्ता र अन्य सुविधा निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साथै गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।
नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि स्थापना गरिने विशेष प्रकारको लगानी कोषका रुपमा यो कम्पनी परिचित छ । यस कम्पनीले पर्यटनसँगै सम्बन्धित विभिन्न पूर्वाधार र व्यवसायमा लगानी गरेर आर्थिक बृद्धि र रोजगारी सिर्जना गर्ने उदेश्य लिएको छ ।

