काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले २८ दशमलव ८० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले भने ५६ दशमलव ६२ प्रतिशत हकप्रद शेयर निष्कासनको लागि आयोगसँग पूर्वस्वीकृति माग गरेको थियो । गत माघ १९ गते कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको आधारमा ५६ दशमलव ६२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति आयोगसँग मागेको थियो।
आयोगले वैशाख १६ गतेको निर्णय अनुसार हाल कायम चुक्तापूँजीको आधारमा २८ दशमलव ८० प्रतिशतले हुन आउने ६० करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको ६० लाख २८ हजार ५४९ कित्ता हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि विक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन प्रस्ताव गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । आयोगको पूर्वस्वीकृति प्राप्त भएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष अनुमति माग गर्नेछ । बोर्डको अनुमति पछि मात्र कम्पनीले यो हकप्रद शेयर निष्कासन गर्नेछ ।

