२०८३ जेठ ११ | २:१० PM
अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

फोर्ट वर्थ म्यागजिनले हालै प्रकाशित गरेको “रुटेड इन हिट” शीर्षकको विशेष फिचरमा ढुङ्गानालाई “फोर्ट वर्थको उत्कृष्ट भारतीय र नेपाली खाना” को नेतृत्वकर्ता भनेर चित्रण गरेको छ ।

लगानीबक्स २०८३ जेठ १ १२:१६ अपराह्न

टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ढुङ्गाना अहिले नेपाली तथा भारतीय परिकारलाई अमेरिकी बजारमा लोकप्रिय बनाउने अभियानमा जुटेका छन् ।

फोर्ट वर्थ म्यागजिनले हालै प्रकाशित गरेको “रुटेड इन हिट” शीर्षकको विशेष फिचरमा ढुङ्गानालाई “फोर्ट वर्थको उत्कृष्ट भारतीय र नेपाली खाना” को नेतृत्वकर्ता भनेर चित्रण गरेको छ । टेक्सासको नर्थ फोर्ट वर्थमा रहेको ईस्पाइस एण्ड स्लाईस नामक रेस्टुरेन्टका कार्यकारी शेफ रहेका उनले नेपाली मौलिकस्वादलाई आधुनिक प्रस्तुतीसँग जोडेर विदेशी ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

नेपालको पूर्वी क्षेत्र झापा जिल्लाका मूल निवासी निश्चल ढुङ्गाना सानैदेखि नेपाली परिकार, गाउँघरको स्वाद र सडक खानाप्रति आकर्षित थिए ।

अमेरिकामा उच्च शिक्षा अध्ययनका क्रममा उनले पहिलोपटक रेस्टुरेन्ट उद्योगमा ‘डिशवाशर’को रूपमा काम सुरु गरेका थिए । त्यही अनुभवले उनलाई ग्राहकको स्वाद, खानाको गुणस्तर र रेस्टुरेन्ट संस्कृतिको गहिरो ज्ञान दियो । पछि उनले इन्जिनियरिङतर्फको बाटो छोडेर पाककला (कुलिनरी आर्ट)मा पूर्ण रूपमा समर्पित हुने निर्णय गरे ।

उनको नेतृत्वमा रहेको ईस्पाइस एण्ड स्लाईस केवल एउटा रेस्टुरेन्ट मात्र होइन, दक्षिण एशियाली समुदायको सांस्कृतिक केन्द्रजस्तै बनेको छ । यहाँ नेपाली मःम, चटपटे, लाफिङ, सेकुवा, मटन तास, सुकुटी जस्ता परिकारसँगै भारतीय बटर चिकेन, टिक्का मसला र बिरयानी समेत लोकप्रिय छन् । रेस्टुरेन्टको विशेषता भनेको ‘लाइभ किचन’ अवधारणा हो, जहाँ ग्राहकले आफ्नै अगाडि खाना तयार भइरहेको प्रत्यक्ष देख्न सक्छन् ।

ढुङ्गाना मसला र स्वादको सन्तुलनमा विशेष ध्यान दिन्छन् । उनका अनुसार खाना केवल पेट भर्ने माध्यम नभई संस्कृति, भावना र स्मृतिसँग जोडिएको कला हो । त्यसैले उनले प्रत्येक परिकारमा नेपालीपनको आत्मा मिसाउने प्रयास गर्छन् । ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने उनको शैलीले पनि उनलाई लोकप्रिय बनाएको छ ।

अमेरिकामा नेपाली खानाको पहुँच अझै सीमित रहेको अवस्थामा निश्चल ढुङ्गानाले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन् । नेपाली युवाका लागि उनी परिश्रम, संघर्ष र प्रतिभाबाट विश्व बजारमा सफलता हासिल गर्न सकिने प्रेरणादायी उदाहरण बनेका छन् । आज टेक्सासमा नेपाली स्वादको चर्चा हुँदा निश्चल ढुङ्गानाको नाम अग्रपंक्तिमा उच्चारण हुन थालेको छ।