काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको निष्कासन आजै हुने र साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३ गते गरिने जनाइएको छ।
यस उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग जानेगरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् । एउटै संस्थाले फरक-फरक ब्याजदरमा पनि बहुबोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन पाउने जनाएको छ । निक्षेप संकलनमा स्वीकृत भएको रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरिनेछ ।
राष्ट्र बैंकका अनुसार कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गरिनेछ । समान ब्याजदरमा बढी आवेदन परेमा ‘प्रो-राटा’ आधारमा बाँडफाँट हुनेछ ।
संकलित निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

