२०८३ असार २८ | १:०० AM
शासकीय संरचनामा मात्र परिवर्तन भएर युगका अपेक्षा पूरा नहुने :…

शासकीय संरचनामा मात्र परिवर्तन भएर युगका अपेक्षा पूरा नहुने : राष्ट्रपति पौडेल

लगानीबक्स २०८३ जेठ १५ १२:०४ अपराह्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा मात्र परिवर्तन भएर युगका अपेक्षा पूरा नहुने बताएका छन् ।

गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन आवश्यक रहेको स्पष्ट पारे ।

उनले व्यवहारमा सुधार नभएसम्म राजनीतिक परिवर्तनले अपेक्षित परिणाम नदिने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राजनीतिक निष्ठा र आचरणमा सुधार अपरिहार्य भएको बताए ।

राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा संरक्षण र समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा आर्थिक पुनरुत्थान आवश्यक रहेको धारणा राखे ।

उनले हालको सरकारद्वारा शासकीय सुधारका कार्यक्रम, एक सय बुँदे कार्यसूची तथा संरचनागत र कानूनी सुधारका प्रयासले जनतामा आशा जगाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिका अनुसार ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक प्रणालीका प्रमुख चुनौती हुन्, जसलाई नियन्त्रण गर्न नसके नागरिकमा निराशा बढ्ने खतरा रहन्छ ।

“जबसम्म प्रत्येक नागरिकका जीवनमा आशाको दियो बल्दैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” राष्ट्रपति पौडेलले भने।

उनले जनताका गुनासो शासकीय संरचनामार्फत समाधान हुने व्यवस्था लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह नै गणतन्त्रको सार्थकता भएको बताए । उनले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्न शासकीय शैली, राजनीतिक दल र नेतृत्वको चरित्र परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको अभ्यास जनस्तरमै विस्तार भइरहेको बताए ।

उनले जनताका गुनासो शासकीय संरचनामार्फत समाधान हुने व्यवस्था लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह नै गणतन्त्रको सार्थकता भएको बताए ।