काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य आकाशिएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ । नयाँ मूल्य सूची अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा आन्तरिक माग र आपूर्तिका अलावा मुख्यतः अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको विनिमय दरका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । विश्व बजारमा भू-राजनीतिक तनाव र आर्थिक निरन्तरताका कारण सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण बढ्दा मूल्य बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १५५.६८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६४.८४ अमेरिकी डलरको उच्च विन्दुमा कारोबार भइरहेको छ ।

