काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (NBPA) २०२५ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ ।
बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यास अवलम्बन गरेका कारण यो विधामा सम्मानित हुन सफल भएको हो । काठमाडौँमा आयोजित एक विशेष बैंकिङ तथा वित्तीय समारोहकाबिच माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले संस्थाका तर्फबाट सो प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छन् ।
यस राष्ट्रिय स्तरको सम्मानले माछापुच्छ्रे बैंकले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाहरू प्रति उत्तरदायी रहन गरेको निरन्तरको प्रयासलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण मद्दत गर्ने विश्वास बैंकले लिएको छ । आईक्यानले हरेक वर्ष वित्तीय प्रतिवेदनहरूको सूक्ष्म अध्ययन र मूल्यांकन गर्दै उत्कृष्ट प्रस्तुतीकरण गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्न यो विधामा पुरस्कार वितरण गर्दै आएको छ, जसमा बैंकको प्रस्तुतीकरण उत्कृष्ट ठहरिएको हो ।
माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो बृहत सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ। आगामी दिनहरूमा पनि बैंकले आफ्ना शेयरधनी, निक्षेपकर्ता तथा समग्र सरोकारवालाहरूलाई समयानुकूल, पारदर्शी र भरपर्दो वित्तीय सूचना उपलब्ध गराउने र उत्कृष्ट संस्थागत अभ्यासलाई अझ परिमार्जित रूपमा निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

