काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्न सहकार्य भएको छ। सहकार्यअन्तर्गत आईक्यानका योग्य सदस्य फर्मले टिगको बेसिक प्याकेज आजीवन निःशुल्क प्रयोग गर्न पाउनेछन् भने योग्य विद्यार्थीले अध्ययन र अभ्यासका लागि स्टुडेन्ट एडिसन पाउनेछन्।
सहकार्यसम्बन्धी सम्झौतापत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले हस्ताक्षर गरेका छन्।
टिगका प्रमुख कार्यकारी अधिकृत केसीले यस सहकार्यले लेखा व्यवसायी र विद्यार्थीलाई आधुनिक क्लाउड अकाउन्टिङ प्रणालीसँग परिचित गराउँदै व्यावहारिक डिजिटल सीप विकासमा सहयोग पुर्याउने बताए। आईक्यानका कार्यकारी निर्देशक डंगोलले नेपालमै विकसित सफ्टवेयरसँगको सहकार्यले लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सहकार्यअनुसार योग्य सदस्य फर्मले आफ्नै संस्थाको लेखा तथा वित्तीय व्यवस्थापनका लागि टिगको बेसिक प्याकेज निःशुल्क प्रयोग गर्न सक्नेछन्। यसबाट क्लाउडमा लेखा व्यवस्थापन, प्रयोगकर्ताको भूमिकाअनुसार पहुँच निर्धारण, मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्रोतमा कर कट्टी (टीडीएस) व्यवस्थापन, वित्तीय प्रतिवेदन तयार गर्ने र बैंक हिसाब मिलानजस्ता काम गर्न सकिनेछ।
निःशुल्क सुविधा लिन आईक्यानमा दर्ता भएका सदस्य फर्मले टिगमा डेमो अकाउन्ट बनाएर त्यसलाई आजीवन निःशुल्क संस्करणमा रूपान्तरण गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनपछि आईक्यानको सदस्यता विवरणका आधारमा प्रमाणीकरण गरिने र प्रक्रिया पूरा भएपछि सम्बन्धित अकाउन्टलाई निःशुल्क संस्करणमा रूपान्तरण गरिने टिगले जनाएको छ।
त्यस्तै, आईक्यानका योग्य विद्यार्थीले स्टुडेन्ट एडिसनमार्फत कारोबार प्रविष्टि, वित्तीय प्रतिवेदन तयार गर्ने, भ्याट तथा टीडीएस व्यवस्थापनलगायतका लेखा प्रक्रियाको अभ्यास गर्न सक्नेछन्। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै आधुनिक लेखा प्रणालीमा व्यावहारिक अनुभव हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्टुडेन्ट एडिसन अध्ययन तथा अभ्यासका लागि मात्र उपलब्ध हुनेछ। यसलाई ग्राहक वा अन्य व्यवसायको व्यावसायिक लेखा व्यवस्थापन, पुनः बिक्री वा अन्य व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन।
क्लाउड प्रणाली, स्वचालन र वास्तविक समयको वित्तीय सूचनाको प्रयोग बढ्दै गएको अवस्थामा लेखा व्यवसायी तथा विद्यार्थीलाई डिजिटल प्रविधिसँग परिचित गराउनु आवश्यक रहेको टिगले जनाएको छ। आईक्यान र टिगबीचको सहकार्यले नेपालमा डिजिटल सीपयुक्त लेखा जनशक्ति विकास गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
