शनिबार, २४ असोज २०८३ | ९:१५ PM
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’

लगानीबक्स सम्वाददाता २४ असोज २०८३ ८:१७ अपराह्न

काठमाडौं । सिद्धार्थ बैंकले बैंकिङ सेवामा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एपीआईमा आधारित बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरेको हो। बैंकिङ एज अ सर्भिस अवधारणामा आधारित ‘र्‍यापिड’ले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसमार्फत बैंक, वित्तीय प्रविधि कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई आपसमा जोड्ने काम गर्छ। प्लेटफर्म बैंकको प्रणालीमा एकीकृत गरेपछि कर्पोरेट ग्राहकले विभिन्न बैंकिङ सेवा लिन छुट्टाछुट्टै प्रणाली प्रयोग गर्नुपर्ने बाध्यता हट्ने बैंकले जनाएको छ। ग्राहकले आफ्नै सफ्टवेयर वा उद्यम स्रोत व्यवस्थापन प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, विवरण डाउनलोड गर्न, कोष व्यवस्थापन गर्न तथा कारोबारको स्वचालित मिलान गर्न सक्नेछन्।

ग्राहकले ‘एपीआई बैंकिङसँग जोड्नुहोस्’ विकल्पमार्फत आफ्नो बैंक खाता जोड्न सक्ने व्यवस्था गरिएको छ। सेवा लिन बैंकमा मोबाइल बैंकिङमा जस्तै एकपटक आवेदन दिएपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकले जनाएको छ। ‘र्‍यापिड’मा ग्राहकको सहमति लिने प्रक्रियासमेत डिजिटल बनाइएको छ। यसले सेवा प्रयोगलाई सहज र पारदर्शी बनाउने बैंकको अपेक्षा छ।

प्लेटफर्ममा सुरक्षाका लागि अन्त्यदेखि अन्त्यसम्मको गुप्तीकरण, बहुस्तरीय प्रमाणीकरणलगायत सुरक्षा प्रणाली प्रयोग गरिएको बैंकले जनाएको छ। ‘र्‍यापिड’मार्फत साना, मझौला तथा ठूला व्यवसायले आफ्नै प्रणालीबाट बैंकिङ सेवासँग जोडिएर वित्तीय गतिविधि व्यवस्थापन गर्न सक्नेछन्। यसले व्यवसायको वित्तीय व्यवस्थापन सहज बनाउनुका साथै बैंक, वित्तीय प्रविधि कम्पनी र डिजिटल सेवा प्रदायकबीचको सहकार्य विस्तारमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ।