काठमाडौं । नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ वटा स्टल रहनेछन् भने ५५ भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन्। साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको उक्त शोमा ४० भन्दा बढी नयाँ भेहिकल लन्च हुने नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ले जनाएको छ।
एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन् । नाइमा अध्यक्ष रितु सिंह वैद्य का अनुसार एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको छ।
अध्यक्ष वैद्यले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन्। उनले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गरिन्।
नाइमाले गत वर्ष मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्सपो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १ हजार ६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको छ। साथै, नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको छ।
अध्यक्ष वैद्यले नाइमाले NAIMA Mobility Expo र NAIMA Monthly Mobility Sambaad जस्ता प्रमुख कार्यक्रमहरू संस्थागत गरिसकेको तथा NAIMA Mobility Journal र NAIMA Capacity Building Training Sessions सुरु गरिसकेको जानकारी दिइन्। त्यस्तै, एक्सपोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र सो फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू NAIMA Mobility Journal मा प्रकाशित गरिने पनि उनले बताइन्।
साथै, नाइमाले आगामी दिनमा NAIMA Mobility Conclave आयोजना गर्ने र विशेषगरी शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गर्दै मोबिलिटी क्षेत्रमा सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रमहरू व्यवस्थित गर्ने योजना रहेको पनि उनले उल्लेख गरिन्।
यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लब को ब्लु पेभिलियन स्थित अडिटोरियम हल मा आयोजना हुने लर्निङ सेसन हरू हुनेछन्। यी सेसनहरूमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन। सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्।

