काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण राखेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले यसको स्वागत गरेको छ ।
सिबिफिनले जारी मौद्रिक नीतिले विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्थाहरू समेटेको उल्लेख गरेको छ । परिसंघले रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, व्यावसायिक वातावरणलाई अझ पूर्वानुमानयोग्य बनाउन र नीतिगत स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।
मौद्रिक नीतिमा नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णय सकारात्मक रहेको सिबिफिनको ठहर छ । साथै बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइने, वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने, वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा विदेशी मुद्रा खरिदका बखत स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने जस्ता नीतिगत व्यवस्थाहरूलाई सिबिफिनले दूरदर्शी कदमका रूपमा लिएको छ ।
सिबिफिनले मौद्रिक नीति निर्माणका क्रममा जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पुँजी कोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विवेकशील नियमनका सुधारका विषयमा महत्त्वपूर्ण सुझावहरू पेस गरेको थियो । ती सुझावहरू हाल सार्वजनिक मौद्रिक नीतिमा प्रत्यक्ष सम्बोधन हुन नसकेको भए तापनि वर्तमान आर्थिक अवस्था र बैंकिङ क्षेत्रमाथि बढ्दो पुँजीगत दबाबलाई मध्यनजर गर्दै राष्ट्र बैंकले आवश्यक अध्ययनसहित आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा यथाशीघ्र सम्बोधन गर्ने सिबिफिनले अपेक्षा राखेको छ।
सिबिफिनले मौद्रिक नीतिका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई सबल बनाउन र निजी क्षेत्रको पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद र सहकार्य गर्न सदैव प्रतिबद्ध रहेको समेत जानकारी गराएको छ ।

