२०८३ असार २८ | ११:२३ AM
आत्मदाह गरेका गणेश नेपाली सम्बन्धि नयां खुलासा, प्रत्यक्षदर्शीले लगाए यस्तो…

आत्मदाह गरेका गणेश नेपाली सम्बन्धि नयां खुलासा, प्रत्यक्षदर्शीले लगाए यस्तो आरोप

‘नगर प्रहरीको व्यवहारले विवाद बढ्यो, समयमै उद्धार हुन सकेन

लगानीबक्स २०८३ असार २८ १०:०७ पूर्वाह्न

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपाली प्रकरणमा एक प्रत्यक्षदर्शीले घटनास्थलमा खटिएका नगर प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।

प्रत्यक्षदर्शीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा ड्युटीमा रहेका नगर प्रहरी र गणेश नेपालीबीच मोटरसाइकलमा लगाइएको लक हटाउने विषयमा विवाद भएको थियो। उनले गणेशले पटक–पटक मोटरसाइकलको लक खोलिदिन आग्रह गरे पनि विवाद बढ्दै गएको दाबी गरेका छन्।

प्रत्यक्षदर्शीको भनाइ , घटनाका क्रममा गणेश नेपालीले हातमा पेट्रोल बोकेका थिए। तर त्यस अवस्थालाई गम्भीर रूपमा नलिइएको र नगर प्रहरीहरू मोटरसाइकल नियन्त्रणमा लिनतर्फ केन्द्रित भएको आरोप लगाइएको छ।

उनका अनुसार गणेशले शरीरमा आगो लगाएपछि उपस्थित व्यक्तिहरू आत्तिएका थिए। घटनास्थलमा रहेका दुई जनाले जारको पानी खन्याएर आगो निभाउने प्रयास गरेका थिए भने अन्य व्यक्तिहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रत्यक्षदर्शीले आगो लागेपछि तत्काल उद्धार र अस्पताल लैजानुपर्ने अवस्थामा नगर प्रहरीको गाडी प्रयोग नगरिएको तथा समयमै उद्धारमा सक्रियता नदेखाइएको आरोप पनि लगाएका छन्। उनका अनुसार पछि नेपाल प्रहरीका एक सदस्य घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिन पहल गरेका थिए।

घटनापछि पनि गणेश नेपालीले आफ्नो मोटरसाइकल नगर प्रहरीले लगेको भन्दै पीडाले छटपटाउँदै गुनासो गरिरहेको प्रत्यक्षदर्शीको दाबी छ।

प्रत्यक्षदर्शीले घटनाका बेला ड्युटीमा रहेका सम्बन्धित कर्मचारीहरूको भूमिकाबारे निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। यद्यपि, यी आरोपहरूबारे सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।