काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि खुद्रा काममा मात्र नअल्झिई प्रणालीगत सुधारमा लाग्न वर्तमान सरकारलाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुन नसक्ने बताए । स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको सम्मिश्रणबाट मात्र सम्भव हुने उनको भनाइ छ ।
आफ्नो कार्यकालमा भएका नीतिगत प्रयासहरूको स्मरण गर्दै पूर्व मन्त्री पौडेलले आम नागरिकलाई सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउन, देशभर समान मूल्य कायम गर्न र आपूर्ति सहज बनाउन महत्वपूर्ण कामहरू अगाडि बढाइएको उल्लेख गरे । उनका अनुसार तत्कालीन समयमा ’सेन्ट्रल बिडिङ–लोकल पर्चेजिङ’को सञ्चालन तयारी, विज्ञहरूमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण र औषधिको मूल्य समायोजन सम्बन्धी नीतिगत व्यवस्थाका लागि अध्ययन प्रतिवेदन तयार पारिएको थियो।
“औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक सामग्री तथा औषधिय गुण भएका अतिरिक्त खाद्य पोषण नियमन तथा व्यवस्थापनका लागि नयाँ विधेयक तथा औषधिको स्वच्छ मूल्य कायम गर्न निर्देशिका तयार गरेर रायका लागि सरोकारवाला मन्त्रालयमा पठाएका थियौँ,“ पौडेलले भनेका छन् ।
आफूले मन्त्रालय सम्हाल्दै गर्दा बजेट निर्माण भइसकेकाले सोही आर्थिक वर्षमा नीतिगत व्यवस्था कार्यान्वयनमा केही जटिलता भए पनि त्यसपछिको बजेटमा आवश्यक व्यवस्थापन गरिसकेको उनले बताए । तर, विकसित नयाँ परिस्थितिका कारण ती महत्त्वपूर्ण नीतिगत कामहरूले गति लिन नसकेको पूर्व मन्त्री पौडेलको भनाइ छ ।
महामन्त्री पौडेलले वर्तमान सरकारलाई दुई बुँदे सुझाव दिँदै भनेका छन् “खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा लागौँ र राज्यलाई नागरिकप्रति
जवाफदेही बनाउन हामीले तयार गरेका कानुनी तथा नीतिगत दस्तावेज र प्रतिवेदनहरूको गहन अध्ययन गरी कार्यान्वयन गरौँ।“

