मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
महिला आर्थिक पत्रकार संघ (फेजा) र नेपाल धितोपत्र बोर्डका प्रतिनिधिबीच…

महिला आर्थिक पत्रकार संघ (फेजा) र नेपाल धितोपत्र बोर्डका प्रतिनिधिबीच सोमबार छलफल भएको छ।

लगानीबक्स ५ साउन २०८३ ३:३२ अपराह्न

ललितपुर । ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा भएको छलफलमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पत्रकारहरूबाट तथ्यपरक र यथार्थ सूचना प्रवाह हुने अपेक्षा व्यक्त गरे।

राज्यका निकाय र लगानीकर्ताबीच पुलको भूमिका पत्रकारहरूले निर्वाह गर्ने भएकाले पुँजी बजारका प्राविधिक विषयलाई गहिरोसँग अध्ययन, विश्लेषण र व्याख्या गरी लगानीकर्ताले सहज रूपमा बुझ्न सक्ने ढंगले समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे।

अध्यक्ष डा. भट्टले बोर्डले चालु आर्थिक वर्ष २०८३र८४ का लागि तयार गरेको पुँजी बजार नीति तथा नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ मा समग्र पुँजी बजार विकाससम्बन्धी कार्ययोजना समेटिएको उल्लेख गर्दै त्यसमा रहेका सुधार तथा विकासका एजेन्डाबारे लगानीकर्तालाई यथार्थ जानकारी गराउन फेजाका प्रतिनिधिसँग अनुरोध गरे।

उनले आगामी दिनमा बोर्डले तर्जुमा गर्ने नयाँ नीति तथा कार्यक्रम परामर्श र सुझावका लागि वेबसाइटमा सार्वजनिक गरिने जानकारी दिँदै ती विषयको गहन अध्ययन गरी लगानीकर्तामाझ सही सूचना प्रवाह गर्न फेजाका सदस्यहरूले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अध्यक्ष डा.भट्टले बोर्डले निकट भविष्यमै नयाँ–नयाँ वित्तीय उपकरण र सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिँदै तीमध्ये धेरै विषय प्राविधिक प्रकृतिका हुने भएकाले पत्रकारहरूलाई पहिलो चरणमै अभिमुखीकरण गरी त्यसपछि आम लगानीकर्तामाझ सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने बताए।

उनले अबका दिनमा नेपाल धितोपत्र बोर्ड केवल आईपीओ अनुमति दिने संस्थाका रूपमा सीमित नरही पुँजी बजारको विकास, विस्तार र प्रभावकारी नियमन गर्ने सक्षम नियामक निकायका रूपमा स्थापित हुने दाबी गरे। विगतमा बोर्ड आईपीओ स्वीकृति दिने संस्थाका रूपमा बढी परिचित रहे पनि अब पुँजी बजारको समग्र विकास र विस्तारमा प्रभावकारी नियामकीय भूमिका निर्वाह गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने विश्वास उनले व्यक्त गरे।