काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८८ करोड ९९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ४६ दशमलव ६९ प्रतिशत बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ६० करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ४९ करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत वर्ष इम्पेरमेन्ट चार्ज रकम साढे ७३ प्रतिशत घटेकाले खुद नाफा बढेको हो । अघिल्लो वर्ष ३४ करोड ५४ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष भने ९ करोड १३ लाख रुपैयाँभन्दा बढी कायम भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीले १२ महिनासम्म ५६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा ५ दशमलव ५२ प्रतिशत अघिल्लो वर्ष रहेकोमा गत वर्षसम्म बढेर ६ दशमलव ८७ प्रतिशत पुगेको हो ।
चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५० पैसा छ ।,
