काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व आफ्नै हातमा कायम राख्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारको निरन्तरताका लागि आवश्यक राजनीतिक पहल, अन्य दलसँग समर्थन जुटाउने प्रक्रिया तथा केन्द्रीय नेतृत्वसँग समन्वय गर्ने सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री एवं संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिएको छ ।
ललितपुरको जावलाखेलस्थित सुशासन केन्द्रमा बिहीबार बसेको संसदीय दलको बैठकले बदलिएको राजनीतिक समीकरणमा कांग्रेसकै नेतृत्वमा सरकारलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग संवाद गरी सरकारका पक्षमा बहुमत सुनिश्चित गर्न तत्काल पहल थाल्ने निर्णय गरेको छ । आवश्यक परे पार्टीको केन्द्रीय नेतृत्वसँग समेत समन्वय गरी राजनीतिक संवादलाई तीव्र बनाइने जनाइएको छ ।
एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशको सत्ता समीकरण फेरिने चर्चा भइरहेका बेला कांग्रेसले नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिएको छ । संसदीय दलको निर्णयसँगै अब सरकार गठनका लागि दलहरूबीचको संवाद र समर्थन जुटाउने राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
बैठकले कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको राजनीतिक योगदानको उच्च प्रशंसा गरेको छ ।
साथै, सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न तथा संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । शान्ति सुरक्षा सुदृढ गर्न बागमती प्रदेश सरकारले संघीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ ।
