काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू घोषणा गरिएको हो।
नेता मिनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई समेटिएको छ। साथै प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापतिहरूलाई पनि समितिमा सहभागी गराइएको छ। त्यसैगरी संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पदेन सदस्यका रूपमा मूल आयोजक समितिमा समावेश गरिएको जनाइएको छ।
राष्ट्रिय भेलालाई नीतिगत तथा व्यवस्थापकीय रूपमा सफल बनाउन १६ वटा विषयगत तथा व्यवस्थापन समितिहरू पनि गठन गरिएको छ। ती समितिहरूमध्ये राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति तथा आर्थिक नीति तयारी समिति प्रमुख रहेका छन्।
यस्तै प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समितिलाई समेत विशेष जिम्मेवारी प्रदान गरिएको छ। संस्थापन इतर समूहले राष्ट्रिय भेलामार्फत पार्टीभित्रको संगठनात्मक सुदृढीकरण, नीतिगत बहस तथा आगामी रणनीति तय गर्ने उद्देश्य राखेको जनाएको छ।

