काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, ब्याज आम्दानी तथा व्यवसाय विस्तारमा उल्लेखनीय सुधार भएको जनाएको छ।
बैंकले समीक्षा अवधिमा ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६० प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भई ८ अर्ब २ करोड रुपैयाँबाट ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। डिजिटल बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, ट्रेजरी तथा विदेशी मुद्रा विनिमय कारोबारमा आएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि २९.०६ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ थियो।
बैंकको निक्षेप संकलन ३४ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ रहेको निक्षेप बढेर ३ खर्ब १५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह पनि २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रतिसाधारण सेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ।
बैंकको इक्विटीमा प्रतिफल ११.५८ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.०४ प्रतिशत पुगेको छ। हाल बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ तथा जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।
बैंकले दिगो विकास, डिजिटल बैंकिङ सेवा विस्तार तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीलाई उच्च प्रतिफल उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।

