काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन ३४८ वटा कम्पनीका ८७ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको तुलनामा कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँले घटेको हो। मंगलबार ४ अर्ब ११ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
बजारको संवेदनशीलता मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४६३.६१ विन्दुमा पुगेको छ। यद्यपि, फ्लोट इन्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंकले घटेका छन्।
उपसमूहतर्फ १३ मध्ये ५ वटा समूहको सूचक बढ्दा ८ वटा समूह घटेका छन्। बैंकिङ ०.०५ प्रतिशत, वित्त ०.२४ प्रतिशत, होटल तथा पर्यटन ०.८५ प्रतिशत, लगानी २.२१ प्रतिशत र म्युचुअल फन्ड ०.२९ प्रतिशतले बढेका छन्। यता विकास बैंक ०.२२ प्रतिशत, जलविद्युत् ०.४० प्रतिशत, जीवन बीमा ०.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७० प्रतिशत, लघुवित्त ०.०५ प्रतिशत, निर्जीवन बीमा ०.०५ प्रतिशत, अन्य ०.१० प्रतिशत तथा व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन्।
कारोबारमा आएको कम्पनीमध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको शेयर मंगलबार मात्रै नेप्सेमा सूचीकृत भएको थियो भने बुधबारदेखि नियमित कारोबार सुरु भएको हो। त्यसैगरी इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पनि ५.५ प्रतिशतले वृद्धि भएको छ।
यता, १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको ३१ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको करिब २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

