शनिबार, २४ असोज २०८३ | २:२३ PM
केन्द्रीय संघ, साना किसान लघुवित्त र डीडीसीबीच त्रिपक्षीय सम्झौता

केन्द्रीय संघ, साना किसान लघुवित्त र डीडीसीबीच त्रिपक्षीय सम्झौता

लगानीबक्स २७ साउन २०८३ ८:५३ अपराह्न

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थान (डीडीसी) बीच दूध खरिद-बिक्रीसम्बन्धी एक त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

दुग्ध विकास संस्थान (लैनचौर) मा आयोजित कार्यक्रममा आगामी भदौ १ गतेदेखि लागू हुने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार केन्द्रीय संघ र साना किसान विकास लघुवित्तका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानहरूले दैनिक १५ हजार लिटर दूध डीडीसीलाई उपलब्ध गराउनेछन् । साथै, आगामी दिनहरूमा दैनिक ६० हजार लिटरसम्म दूध प्रदान गर्ने लक्ष्य राखिएको छ।

सम्झौतामा डीडीसीले दुई संस्थाको सञ्जालमार्फत यसअघि खरिद गरिएको दूधको बाँकी भुक्तानी आगामी १ महिनाभित्र गरिसक्नुपर्ने, दूधको मात्रा र गुणस्तर सुरुआती संकलन केन्द्रमै मापन गरी कायम हुनुपर्ने तथा दूधको कन्भर्सनको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

सम्झौतापश्चात् बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्धनका लागि यो सम्झौता कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। डीडीसीमा विगतदेखि देखिँदै आएको भुक्तानीसम्बन्धी समस्या अब नदोहोरिने स्पष्ट पार्दै उनले नियमित भुक्तानीको ग्यारेन्टी गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन, उत्पादन र आत्मनिर्भरता बढाउन यो सम्झौताले सहयोग पुर्‍याउने बताए । दूधमा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले डीडीसीप्रति विगतको धारणा बदलिँदै सुधारको सुरुआत भइसकेकाले दुग्ध उत्पादक किसानहरूलाई ढुक्क भएर यस अभियानमा जोडिन आग्रह गरे ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. का अध्यक्ष खेमराज उप्रेतीले डीडीसीसँगको सम्झौता नेपाली दुग्ध उत्पादक किसानहरूका लागि ऐतिहासिक दिन भएको बताए । हाल केन्द्रीय सङ्घको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको र यस सम्झौताले उत्पादन वृद्धिमा थप प्रेरणा मिल्ने उनको भनाइ थियो ।

सम्झौतापत्रमा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी र दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा साना किसान विकास लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रूपाखेती, डीडीसीका उप-महाप्रबन्धक लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।