काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी तथा मन्त्रालयका अधिकारीहरूले आज एसियाली विकास बैंक (ADB) को GREFF मिसन टोलीसँग महत्वपूर्ण छलफल गरेका छन्। छलफलमा नेपालको आर्थिक तथा सामाजिक विकासमा एसियाली विकास बैंकले पुर्याउँदै आएको योगदान, विशेषगरी कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा ग्रामीण अर्थतन्त्रको सबलीकरणका विषयमा विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।
बैठकमा हाल सञ्चालनमा रहेको ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (NAFHA)’ लगायत विभिन्न प्राविधिक सहायता तथा सिँचाइमा आधारित आयोजनाको प्रगति र चुनौतीबारे समीक्षा गरिएको थियो। आयोजनाको प्रभावकारी कार्यान्वयनका क्रममा देखिएका बीउबिजन तथा नर्सरी नियमनसम्बन्धी अवरोधहरूलाई तत्काल सम्बोधन गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो।
मन्त्री चौधरीले कृषि क्षेत्रको रूपान्तरणका लागि विकास साझेदारहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताइन्। उनले आयोजना कार्यान्वयनमा देखिएका समस्याको समाधान गरी आगामी दिनमा कार्यक्रमहरूलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी ढंगले अघि बढाउन नेपाल सरकार र मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने विश्वास व्यक्त गरिन्।
छलफलमा एडीबीको GREFF मिसन टोलीले कृषि तथा ग्रामीण विकासका क्षेत्रमा जारी सहकार्यलाई निरन्तरता दिँदै आगामी कार्यक्रमहरूमा समेत सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।
