मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
बैंकिङ प्रणालीमा १५ खर्बभन्दा बढी लगानीयोग्य रकम, कुल निक्षेप ८२…

बैंकिङ प्रणालीमा १५ खर्बभन्दा बढी लगानीयोग्य रकम, कुल निक्षेप ८२ खर्ब ५० अर्ब रुपैयाँ

लगानीबक्स २८ साउन २०८३ ११:४० पूर्वाह्न

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्रै ७४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५२ खर्ब ६५ अर्ब रुपैयाँ तथा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ।

निक्षेपको तुलनामा कर्जा प्रवाह कम रहेकाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको देखिएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.२२ प्रतिशत रहेको छ। सीडी रेसियो कम हुनु भनेको बैंकहरूसँग निक्षेपको तुलनामा थप कर्जा प्रवाह गर्न सक्ने स्रोत उपलब्ध रहेको संकेत हो।

हाल बैंक तथा वित्तीय संस्थासँग करिब १५ खर्ब ४९ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। साथै, स्थानीय मुद्रामा भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ, जसले बैंकिङ प्रणालीमा तत्कालका लागि तरलताको दबाब नरहेको संकेत गर्छ।

उच्च निक्षेप, तुलनात्मक रूपमा कम सीडी रेसियो तथा न्यून अन्तरबैंक ब्याजदरका कारण बैंकिङ प्रणालीको तरलता अवस्था सहज देखिएको छ। यद्यपि, निक्षेप वृद्धि र कर्जा मागको अवस्थाअनुसार आगामी दिनमा तरलताको स्थिति परिवर्तन हुन सक्ने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन्।