काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा सामाजिक संवादलाई प्रभावकारी बनाउन दुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान ओजकान बीच महासंघ सचिवालय टेकुमा बिहीबार भएको भेटवार्तामा साझा प्राथमिकतालाई ठोस परिणाममा रूपान्तरण गर्न दीर्घकालीन रणनीतिक साझेदारीलाई थप संस्थागत र परिणाममुखी बनाउने कुरामा जोड दिइएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आईएलओसँगको लामो सहकार्यले नेपालको श्रम बजार, उद्यम विकास र सामाजिक संवाद सुदृढ गर्न महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले निजी क्षेत्र लगानी र आर्थिक वृद्धिको मात्र नभई उत्पादनशील तथा गुणस्तरीय रोजगारीको प्रमुख स्रोत भएको उल्लेख गर्दै उद्यम विस्तार, श्रमिकको जीवनस्तर सुधार र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण आवश्यक रहेको बताउनुभयो ।
“युवाहरुको वैदेशिक पलायन, सीप र रोजगारीबीचको असन्तुलन, श्रमिक अभाव र न्यून उत्पादकत्व नेपालको प्रमुख चुनौती रहेको छ । उहाँले भन्नुभयो, उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन तथा कृषिलगायत क्षेत्रमा आवश्यक जनशक्ति अभाव भइरहेको उल्लेख छ । यो अवस्थाम सीप विकास, आधुनिक प्रविधि, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य र निरन्तर जनशक्ति स्तरोन्नतिमा लगानी बढाउनुपर्ने अवस्था छ । ”
नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिको चरणमा रहेकाले उद्यम तथा श्रमिकलाई समयमै प्रतिस्पर्धाका लागि तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले डिजिटल प्लेटफर्म, कृत्रिम बुद्धिमत्ता, स्वचालन र हरित संक्रमणले कामको प्रकृति परिवर्तन गरिरहेको अवस्थामा प्रविधिमैत्री तर श्रमिकमैत्री नीति आवश्यक रहेको बताउनुभयो ।
महासंघको नवनिर्वाचित नेतृत्वले छ रणनीतिक स्तम्भ र ६० प्राथमिक कार्यमा आधारित सुधारमुखी कार्यदिशा अघि बढाएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले लगानी प्रवद्र्धन, नीतिगत पैरवी, रोजगारी तथा उत्पादकत्व, नवप्रवर्तन, दिगो विकास र विश्वव्यापी साझेदारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले आईएलओको सहयोगमा सञ्चालित विभिन्न परियोजनाबाट महिला उद्यमशीलता, रोजगार सेवा, गुनासो व्यवस्थापन, निजी क्षेत्रको रोजगार सेवा सहभागिता तथा एलडीसी स्तरोन्नतिसम्बन्धी काममा महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिनुभयो ।
आईएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान ओजकानले व्यवसाय वृद्धि र रोजगारी सिर्जनाका लागि महासंघसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले श्रम बजारको अनौपचारिकता, प्लेटफर्म अर्थतन्त्र, जलवायु परिवर्तन र सीप असन्तुलनजस्ता नयाँ चुनौती सम्बोधन गर्न आईएलओ, महासंघ, सरकार तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
भेटवार्तामा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले श्रम कानून सुधार प्रक्रिया समावेशी, पारदर्शी र वास्तविक त्रिपक्षीय सामाजिक संवादमा आधारित हुनुपर्ने बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीपलाई स्वदेशी उद्योगको आवश्यकतासँग जोड्न सीप नक्सांकन, एलडीसी स्तरोन्नतिको सन्दर्भमा अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा अनुपालन क्षमता विकास र राइड–हेलिङ तथा डेलिभरी सेवाजस्ता प्लेटफर्म अर्थतन्त्रका नयाँ श्रम सम्बन्धबारे स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
