काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा सरकारको कुल आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले बढी हो।
कार्यालयका अनुसार कर राजश्वबाट रु ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजश्वबाट रु सात अर्ब तीन करोड ४७ लाख प्राप्त भएको छ। यस अवधिमा सरकारले रु २४ करोड तीन लाख बराबरको वैदेशिक अनुदान सहायता पनि प्राप्त गरेको जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल रु १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ। साउन महिनाको राजश्व सङ्कलनले वार्षिक लक्ष्यतर्फ सकारात्मक संकेत गरेको देखिन्छ।
यता, साउन महिनामा सरकारको कुल बजेट खर्च रु ४१ अर्ब ८८ करोड ५८ लाख पुगेको छ। यो चालु आर्थिक वर्षका लागि विनियोजित रु २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख बजेटको एक दशमलव ९७ प्रतिशत हो।
चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन गरिएकोमा साउन मसान्तसम्म रु २१ अर्ब ४० करोड ३८ लाख अर्थात् एक दशमलव ६८ प्रतिशत खर्च भएको छ। त्यस्तै, पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन गरिएकोमा शून्य दशमलव ३१ प्रतिशत मात्र खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ भने साउन मसान्तसम्म रु १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको चार दशमलव ५३ प्रतिशत बराबर हो।
राजश्व सङ्कलनमा सुधार देखिए पनि पुँजीगत खर्चको गति भने अपेक्षाकृत सुस्त रहेको तथ्याङ्कले देखाएको छ।

