काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ। भेटमा नेपाल-चीन आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक सम्बन्धबाट माथि उठाउँदै व्यापार, लगानी, प्रविधि र संयुक्त उद्यममा आधारित दीर्घकालीन साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।
भेटवार्तामा महासंघ, चिनियाँ दूतावास, सीसीपीआईटी तथा चिनियाँ प्रान्तीय वाणिज्य संघबीच नियमित संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम र निर्यात प्रवद्र्धनमा केन्द्रित कार्यक्रम अघि बढाउने विषयमा छलफल भएको थियो।
अध्यक्ष श्रेष्ठले नेपाल–चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई बलियो व्यापार तथा लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताए। उनले चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिङ्गिङ बाउललगायत नेपाली उत्पादनको चीनमा निर्यात बढाउन सकिने बताए।
नेपालको चीनसँगको आयातको तुलनामा निर्यात नगण्य रहेको भन्दै श्रेष्ठले नेपाली वस्तुको निर्यात बढाउन चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए। अब व्यापार मेलामा सहभागिताभन्दा वास्तविक अर्डर, दीर्घकालीन खरिदकर्ता र व्यावसायिक साझेदारी निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
महासंघले १५ वर्षभन्दा बढी समयदेखि चीनको कुनमिङमा आयोजना हुँदै आएको चाइना–साउथ एसिया एक्स्पोलगायत विभिन्न व्यापार मेलामा नेपाली व्यवसायीको सहभागिता गराउँदै आएको जानकारी दिँदै श्रेष्ठले चिनियाँ पर्यटकको आगमन बढाउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क विस्तारमा पनि जोड दिए।
नेपाल एलडीसीबाट स्तरोन्नतिको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा निर्यात विविधीकरण, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र गुणस्तरीय वैदेशिक लगानी आकर्षित गर्न चीनले महत्वपूर्ण भूमिका खेल्न सक्ने श्रेष्ठले बताए। चीनसँगको सहकार्यबाट नेपालको उत्पादन क्षमता वृद्धि गर्दै क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा जोडिन सकिने उनको भनाइ थियो।
श्रेष्ठले आगामी डिसेम्बरमा काठमाडौंमा आयोजना हुने ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चिनियाँ कम्पनीहरूको थप सहभागिताका लागि राजदूतसँग आग्रह गरे। उनले मेलालाई नेपाल–चीन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक साझेदारी विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
चिनियाँ राजदूत झाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप गहिरो बनाउनुपर्ने बताए। नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवद्र्धन गर्न तथा दुई देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तारमा सहजीकरण गर्न चीन तयार रहेको उनले बताए।
चीनको प्रतिस्पर्धात्मक बजारमा नेपाली वस्तु निर्यात गर्दा गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र परिमाणमा विशेष ध्यान दिनुपर्ने राजदूत माओमिङले बताए। नेपाली व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोग गर्न चीन तयार रहेको उनको भनाइ थियो।
भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्षद्वय कृष्णप्रसाद शर्मा र नरेशलाल श्रेष्ठ तथा बाग्मती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठलगायतले चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा महत्वपूर्ण वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे। उनीहरूले द्विपक्षीय व्यापारमा रहेको असन्तुलन घटाउन नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तारका लागि थप सहयोग र सहजीकरण आवश्यक रहेको बताए।

