मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक…

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

लगानीबक्स १ भदौ २०८३ ९:११ अपराह्न

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गर्नु भयो ।

सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा उहाँले विजेताहरूलाई पुरस्कार रकम प्रदान गर्नुभएको हो।

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जित्नुभएको थियो। २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उहाँलाई १० लाख राशिको उपहार परेको थियो।

उहाँलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। सो क्रममा अर्थमन्त्री डा. वाग्लेले विजेता जोशीलाई सरकारको करदाता प्रोत्साहन पुरस्कारको दूत बन्न आग्रह गर्नुभयो। साथै, उहाँले पुरस्कारको रकम राम्रो काममा लगानी गर्न आग्रह गर्नुभयो।

“हेमराजजी, बधाई छ। तपाईँ पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईँ सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो।

यस्तै, एक लाख ३३ हजार रुपैयाँ विजेता गैँडाकोट, नवलपरासीका हिमाल अर्याललाई पनि अर्थमन्त्री डा. वाग्लेद्वारा पुरस्कार हस्तान्तरण गरियो। उहाँले साथीहरूसँग आइसक्रिम खाँदा तिरेको कारोबारमा एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नुभएको थियो। पुरस्कार रकमबाट २५ प्रतिशत करकट्टी भएपछि उहाँले एक लाख रुपैयाँ नगद उपहार पाउनुभयो।

पहिलो १५ दिनको अन्य विजेताहरुलाई यसै साता आन्तरिक राजश्व कार्यालयबाट नगद पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।