शुक्रबार, ५ भदौ २०८३ | ९:१७ AM
हिमालयन लाइफले सीईओ पदका लागि खुला आवेदन माग्यो

हिमालयन लाइफले सीईओ पदका लागि खुला आवेदन माग्यो

लगानीबक्स ३ भदौ २०८३ २:५७ अपराह्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार नेपाल बीमा प्राधिकरणले तोकेको योग्यता पूरा गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। उम्मेदवारले व्यवस्थापन, बिजनेस एडमिनिस्ट्रेसन, वित्त, अर्थशास्त्र, लेखाशास्त्र वा बीमा विषयमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, मान्यताप्राप्त संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेका उम्मेदवार पनि योग्य मानिने कम्पनीले जनाएको छ।

सीईओ पदका लागि आवेदन दिने उम्मेदवारसँग जीवन बीमा व्यवसाय सञ्चालन, बीमा उत्पादन, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा, जोखिम व्यवस्थापन, लगानी तथा वित्तीय व्यवस्थापनलगायत क्षेत्रमा आवश्यक ज्ञान, क्षमता र नेतृत्वदक्षता हुनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, बीमा कम्पनीमा कम्तीमा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पाँच वर्ष काम गरेको अनुभव तथा नेपाल बीमा प्राधिकरणले निर्धारण गरेका अन्य योग्यता पनि अनिवार्य रहेको कम्पनीले जनाएको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकले आवश्यक कागजातसहित भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले खुला प्रतिस्पर्धामार्फत सक्षम नेतृत्व चयन गरी संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवेदन आह्वान गरेको जनाएको छ।