काठमाडौं । बजारमा एलपी ग्यासको अभाव हुन सक्ने चर्चा चलिरहेका बेला नेपाल आयल निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री–वितरणको तथ्यांक सार्वजनिक गर्दै ग्यास आपूर्ति नियमित रहेको जनाएको छ। निगमका अनुसार पछिल्लो समय ग्यासको आयात र बिक्री दुवै उल्लेख्य रूपमा बढेको छ।
निगमले भदौ ३ गते जारी गरेको प्रेस विज्ञप्तिमा १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण सहज र नियमित रहेको स्पष्ट पारेको छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामध्ये श्रावण महिनामा सबैभन्दा धेरै ग्यास आयात भएको देखिएको छ।
निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो, जसबाट करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा पुगेका थिए। वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४४४.४० मेट्रिक टन र श्रावणमा ५० हजार ३९६.३५ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।
तथ्यांकअनुसार श्रावण महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बजारमा पुगेका छन्, जुन पछिल्लो पाँच महिनाकै उच्च हो। अघिल्लो महिना असारको तुलनामा श्रावणमा करिब ९ लाख सिलिन्डर बढी बिक्री–वितरण भएको निगमले उल्लेख गरेको छ।
निगमले आगामी दिनमा पनि ग्यासको आयात तथा वितरण नियमित रहने जनाएको छ। साथै, उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। निगमका अनुसार आपूर्ति प्रणाली नियमित भइरहेका बेला अत्यधिक सञ्चिति गर्ने प्रवृत्तिले बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्छ। त्यसैले अभावको हल्लाको पछि नलागी संयमित रूपमा ग्यास खरिद गर्न निगमले उपभोक्तासमक्ष अनुरोध गरेको छ। पछिल्लो तथ्यांकले बजारमा ग्यास आपूर्ति घटेको नभई आयात र बिक्री–वितरणको मात्रा निरन्तर बढिरहेको संकेत गरेको निगमको भनाइ छ।

