शुक्रबार, ५ भदौ २०८३ | ६:१६ PM
साउनमै व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो, आयात–निर्यात दुवैमा…

साउनमै व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो, आयात–निर्यात दुवैमा उल्लेख्य वृद्धि

लगानीबक्स ५ भदौ २०८३ ५:०० अपराह्न

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि देखिएको छ।

विभागका तथ्यांकअनुसार साउन महिनामा कुल आयात १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो महिनामा आयात १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँ रहेको थियो। नेपालले मुख्य रूपमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलजन्य सामग्री, मेसिनरी तथा पार्टपुर्जा, सवारी साधन, भटमास, दूरसञ्चार सामग्री तथा विद्युतीय उपकरण आयात गर्दै आएको छ।

यता, निर्याततर्फ पनि उत्साहजनक वृद्धि देखिएको छ। चालु आवको पहिलो महिनामा नेपालले ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

नेपालबाट मुख्य रूपमा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, ऊनी गलैंचा, अलैंची, जुटजन्य सामग्री, तयारी पोशाक, चिया, पश्मिना, जडीबुटी, चाउचाउ तथा अन्य औद्योगिक उत्पादन निर्यात हुने गरेका छन्। समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३५ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३ प्रतिशत र निर्यातको हिस्सा १७ प्रतिशत रहेको छ। निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको उच्च दरका कारण व्यापार घाटा अझै ठूलो परिमाणमा कायम रहेको देखिएको छ।