काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको हकहितका लागि स्थापित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको छ। स्वर्ण जयन्तीको अवसर पारेर नाडाले ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नारासहित आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ आयोजना गर्दैछ।
नेपालमा सवारीसाधनको आयात विस्तार हुँदै गएपछि व्यवसायीहरूको साझा हकहितका लागि मञ्च आवश्यक महसुस भएपछि तोलाराम दुगडको अध्यक्षतामा २०३२ सालमा अटोमोबाइल एसोसिएसन अफ नेपालको स्थापना भएको थियो। संस्थाको दायरा विस्तार हुँदै २०६१/६२ सालमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन र २०७२ सालमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नाम कायम भएको हो।
पाँच दशकको यात्रामा नाडाले व्यवसायीहरूको साझा आवाजलाई संस्थागत गर्दै सरकार र निजी क्षेत्रबीच नीति संवादको महत्वपूर्ण पुलका रूपमा काम गर्दै आएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गाडी बिक्री गर्ने व्यवसायीहरूको संगठनलाई अटोमोबाइल उद्योगको प्रतिनिधित्व गर्ने, नीति पैरवी गर्ने, सीप विकास गर्ने, प्रविधि प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय उद्योगसँग जोड्ने संस्थागत प्लेटफर्ममा रूपान्तरण गर्नु ठूलो उपलब्धि भएको बताए।
अध्यक्ष उप्रेतीका अनुसार अब नेपाल केवल ‘गाडी आयात गर्ने देश’ नभई ‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देश’ बन्ने दिशामा अघि बढ्नुपर्छ। नाडाले नीति पैरवी, उद्योग प्रतिनिधित्व, अटो शो, सूचना अभिलेख, सीप विकास, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विद्युतीय र हरित मोबिलिटीका क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्दै आएको छ।
नाडाले २०५५ सालमा पहिलो अटो शो आयोजना गरेको थियो, जसमा २६ वटा स्टल रहेका थिए। ग्राहकको आकर्षण बढ्दै गएपछि २०६७ सालदेखि अटो शोलाई प्रत्येक वर्ष आयोजना गर्न थालिएको हो। अहिले नाडा अटो शो नयाँ सवारीसाधन सार्वजनिक गर्ने, ब्रान्ड प्रवर्द्धन गर्ने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने, अटो लोन प्रवर्द्धन गर्ने तथा नयाँ प्रविधि प्रदर्शन गर्ने प्रमुख व्यावसायिक मञ्चका रूपमा स्थापित भएको छ।
यस वर्षको १८औँ अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारी, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वटा वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ। ईभी, रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई यसपटक विशेष प्राथमिकता दिइएको छ।
छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङ तथा बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बसको व्यवस्था गरिनेछ। प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क रहनेछन्। नाडाले स्वर्ण जयन्ती वर्षको अटो शोमार्फत आफ्नो पाँच दशकको इतिहाससँगै नेपाली अटोमोबाइल उद्योगको आगामी यात्राको दिशा पनि प्रस्तुत गर्ने जनाएको छ।
