काठमाडौं, ७ भदौ। भदौ ९ गतेदेखि सुरु हुने १८औँ नाडा अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यस वर्षको प्रदर्शनीमा नेपालकै श्रम, सीप र पुँजीमा तयार भएको ‘यात्री पीटु’ सहित करिब एक दर्जन नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुने भएका हुन् ।
नेपालमै उत्पादन भएको यात्रीले पहिलो ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर ‘यात्री पीटु’ नाडा अटो शोबाट सार्वजनिक गर्दैछ । सिप्रदी यात्री प्रालिले उत्पादन गरेको उक्त स्कुटरको बिक्रीसमेत अटो शोबाटै सुरु गर्ने जनाएको छ । स्कुटरलाई अटो शोको ‘मेड इन नेपाल’ प्याभिलियनमा प्रदर्शन गरिनेछ ।
नाडा अटो शोमा ११ कम्पनीका १३ ब्रान्डले दुईपाङ्ग्रे सवारीसाधन प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ उत्पादन अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।
एमएडब्लू राइज प्रालिअन्तर्गतको यामाहा नेपालले ‘यामाहा एक्सएसआर’ सहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शोमा नयाँ उत्पादनका साथै मूल्यलगायतका जानकारीसमेत पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ ।
सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल अटो शोबाट बिक्री सुरु गर्ने जनाएको छ । सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले ‘भीएक्स जेड’ स्कुटर र ‘केथ्री डट मिनी’ मोटरसाइकलसमेत प्रदर्शनीमा राख्ने भएको छ ।
मिचे अटो नेपाल प्रालिले पाँच नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा सहभागिता जनाउने भएको हो । मिचे अटोले नेपालमै विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्दै आएको छ ।
रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि अटो शोमा नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले अटो शो सुरु हुन दुई दिनअघि बजारमा ल्याएको नयाँ क्लासिक मोडल प्रदर्शनीमा राख्ने जनाएको छ ।
यस वर्षको नाडा अटो शोमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायत दुईपाङ्ग्रे ब्रान्डले समेत सहभागिता जनाउँदैछन् ।नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो १८औँ नाडा अटो शोमा ठूलो सङ्ख्यामा नयाँ दुईपाङ्ग्रे मोडल सार्वजनिक हुनुले नेपाली बजारमा नयाँ उत्पादन, विद्युतीय सवारीसाधन र स्थानीय एसेम्बलीप्रति बढ्दो चासो देखाउने व्यवसायीहरूले बताएका छन् ।
एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुने भएकाले अवलोकनकर्ताले आफूलाई अनुकूल उत्पादन, प्रविधि र मूल्यबारे जानकारी लिन तथा खरिद गर्न सहज हुने आयोजकले जनाएको छ ।

