सोमबार, ८ भदौ २०८३ | १२:२७ PM
सुन फेरि महँगियो, प्रतितोला मूल्य ३ लाख २२ हजार नाघ्यो

सुन फेरि महँगियो, प्रतितोला मूल्य ३ लाख २२ हजार नाघ्यो

लगानीबक्स ८ भदौ २०८३ ११:२८ पूर्वाह्न

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ कायम गरेको छ। साताको दोस्रो कारोबार दिन सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले वृद्धि भई ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ कायम भएको छ। लगातारको मूल्यवृद्धिसँगै सुन बजारमा नयाँ रेकर्डतर्फ उन्मुख देखिएको छ। यता चाँदीको मूल्य भने सामान्य घटेको छ। सोमबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५६ रुपैयाँ ५० पैसा कायम भएको छ।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।